Thursday, February 18, 2010

बर्थ डे बास

‘ह्याप्पी बर्थ डे टु यु
ह्याप्पी बर्थ डे टु यु मन्जु’

सहभागी सबैले मिठो भाका लगाउदै थिए । बलीरहेका क्यान्डील निभाएपछी मन्जुका हातहरु केक तर्फ लम्बन्छन् । ह्याप्पी बर्थ डे टु यु मन्जु, यस्तै लेखिएको छ केकमा । यसलाई उनले दुई टुव्रmा पारीन् । अनि सुरु भयो केक ख्वाउने कार्यक्रम । मन्जु पालैवालो सबैलाई ख्वाउदै गईन् । सहभागी साथीहरु र इस्टमित्रले उनलाई टिका लगाइदिदै शुभकामना र उपहार दिन थाले ।

२३ वर्ष अघि आजैको दिन मन्जुले धर्ती टेकेकी थिइन् । त्यसैले उनी हर्षउल्लासका साथ जन्मदिन मनाउदै छिन् । पि.के कलेज बागबजारबाट मास्टर्स डिग्री सक्न लागेकी काठमाण्डौ बालाजु बस्ने मन्जु भन्छिन् ‘बर्थ डे मनाउदा बेग्लै आनन्द आउछ । सबैको शुभकामनाले केही गर्यौ भन्ने उत्साह थप्छ । त्यसैले केही बर्ष देखी नियमीत मनाउन थालेकी छु’

सधैको बर्ष बर्थ डेका दिन उनको कार्यसुची प्राय उस्तै हुन्छ । विहानै पशुुुुपतीनाथको मन्दिर । साथीभाई र परीवारसंग रमाईलो अनि साझमा सेलीब्रेसन । आफुुलाई फोन, एसएमएस वा भेटेरै पनि जन्मदिनको शुभकामना दिने सबैलाई निम्ता हुन्छ साझको सेलीब्रेसनमा ।

मन्जुमात्र होईन, पछिल्लो पटक आफ्नो जन्मदिन उत्सवको रुपमा मनाउने जमाथ ठृलै भैसकेको छ । त्यसो त केही वर्ष अघिसम्म मन्जुले पनि कहा मनाउथिन् र आफ्नो जन्मदिन ? ‘ग्लोबलाइजेसनको पछिल्लो प्रभाव हो बर्थ डे सेलीब्रेसन’ उनले थपिन् , ‘वितेको वर्षको समिक्षा गर्दै आउने वर्षमा थप सफलताको लागी शुभकामना लिने हदसम्म सेलीब्रेसन गर्नु राम्रो हो ।’ मन्जु भड्काउलो पाराको सेलीब्रेसनको विपक्षमा छिन् । उनको भड्काउलो परीभाषामा अनावश्यक खर्च, जाड पार्टी र होहल्ला पर्छ । तर साथीभाईसंग रमाइलो गर्न बर्थ डेका दिन दुई तीन हजार खर्चन भने डराउन नहुने उनको तर्क छ ।
अझ मन्जुका दाई बिजय पनि तयारीमा निकै ब्यस्त भेटिए । ‘यो उमेरमा यस्ता सेलीब्रेसनले निकै महत्व राख्छन् । हाम्रो सानै सहयोग र हौसलाले पनि बिशेष अर्थ राख्ने भएकाले बहिनीको जन्मदिनलाइ बिशेष रुपमानै मनाउन प्रोत्साहन गरेको हु’ बिजयले सुनाए । त्यसो त क्यासपियन भ्याली कलेज ललितपरमा अध्यापनरत बिजय आफै पनि बर्थ डे सेलिब्रेट गर्ने मध्य पर्छन् ।

काठमाण्डौ वानेश्वर बस्ने अभिनन्दन अर्यालले पनि आफ्नो २१ औ बर्थ डे मनाए, गएको मंसीर १२ गते । बुवाको जागीरको सिलसिलामा भारतमै जन्मिएको प्रभावले पनि होला उनले सानै देखी आफ्नो बर्थ डे मनाउदै आएका छन् । तर घर अर्घाखाचीमा रहदा भने बेग्लै तवरबाट बर्थ डे सेलीब्रेसन गरेको अनुभव साटे । भन्छन् ‘घरमा पण्डीत बोलाएर पुजा गरिन्थ्यो । ग्रह शान्ती र सत्यनारायणको पाठ लगाएर जन्मोत्सवमा रमाइलो हुन्थ्यो । सबै गाँउलेलाई प्रसादी खान बोलाउदाको आनन्दै बेग्लै । आजकल जस्तो केक काट्ने भन्ने हुदैनथ्यो ।’ फरक शैलीमै भए पनि हरेक बर्षनै बर्थ डे मनाउदै आएको अनुभब संगालेका अभिनन्दनका नजरमा पनि जन्मेको दिन केही रमाइलो गर्नु राम्रो नै हो । राती १२ बजेनै फोन र एसएमएसका बर्षा लाग्छन् रे उनलाई बर्थ डेका दिनमा । ती सबै फोन र एसएमएसलाई बिश्लेषण गर्दै थप्छन् ‘साथीभाई र इस्टमित्र सबैको नजरमा राम्रै रहेछुु झै लाग्छ ।’ अभिनन्दनको बर्थ डे सेलीब्रेसमा पनि मन्जुकै झै झल्को आउथ्यो । उही क्याण्डील निभाउने, केक काट्ने आदी । अक्सर तन्नेरीहरु यस्तै पारामा रमाउछन् आफ्नो जन्मदिनको स्मरणमा ।

नेपालमा जन्मदिन उत्सवकै रुपमा मनाउन कहिले बाट सुरु भयो भन्ने यथेस्ट तथ्य नभएपनि राजा, राणाहरुले धेरै पहिले बाटनै मनाउन थालेको अनुमान गरीन्छ । राजाहरुको जन्मदिनलाई राष्ट्रिय चाडनै मानेर सार्वजनिक बिदा दिने चलन केही वर्ष अघिसंम पनि थियो । तर सामान्य नागरिकले भने बिदेशी टेलिभिजन च्यानलहरुको बढ्दो प्रभावसंगै आधुनिक तवरबाट सेलिब्रेसन गर्न सिनेका हुन् । यद्धपी हुनेखाने र केही बिशेष व्यक्तीहरुले भने परम्परागत पुजापाठ लगाएर जन्मदिन मनाउने गरेको चलन नया होईन । शहरमा बर्थ डे मनाउने चलन पछिल्लो पटक ब्यापकनै भएपनि गाउमा भने अझै पनि यो नैलो र अनावश्यककै रुपमा लिईन्छ । अभिनन्दनको घरमा झै बिदेश घुमेका परिबार र केही हुनेखानेहरुले भने कुनै न कुनै रुपमा गरेको पनि भेटिन्छ । तर आफु जन्मेको दिनको यादनै नहुनेहरु पनि थुप्रै भेटिन्छन् ।

via Hello Shukrabar (Kantipur)

No comments: