Sunday, February 21, 2010

समयले खोजेको सपना

केही समयअघि एकजना आफन्त काकाको छोरा जन्मियो । उनको यो पहिलो सन्तान थियो । आफ्नो भाइलाई इञ्जिनियर पढाइराखेका उनले आफ्नो छोरालाई मेडिकल क्षेत्रमा लैजाने सपना आफन्तहरुमाझ बाँड्दै हुनुहुन्थ्यो । त्यहाँबाट कोठामा फर्कँदा साँगै प्लसटु सकेको साथीको यसैबर्ष मेडिकलमा नाम निस्केको अवसरमा खुसी बाँड्दै मकहाँ आएको थियो । जस्तोकी उसको जीवनले पनि अब निश्चिन्त बाटो समातिसकेको छ । कलेजमा पुग्छु, एमएस्सी सकेका दाजुहरुले आफ्नो जीवनको मिसन अमेरिका र युरोप सजाउन थालिसकेका छन् । अनलाइनमा पुराना साथीहरु भेट्छु, अमेरिका र अस्ट्रेलियाबाट आफ्ना कमाइका फेरहिस्त सुनाउँदै हुन्छन् । सबैसँग आफूलाई तुलना गर्छु, मेरो भविष्य पनि कतै उनीहरुकै पंक्तिमा थपिने त होइन । तर कताकता आफ्ना ब्यक्तिगत धरातलबाट केही माथि उठेर सोच्छु, के देशका यस्ता सक्षम जनशक्ति सबै आफ्ना ब्यक्तिगत सुखसयलमै ध्यान लगाउने हो भने यो घायल देशलाई उपचार कसले गर्ने । गिरिजाप्रसाद, माधवकुमारका असफलतालाई कारण देखाएर नयाँ नेपाल बनाउन लम्केका प्रचण्ड पनि राजनीतिबाट हारको संकेत दिँदैछन् । यसले एउटा स्पष्ट संकेत दिन्छ, अब देश पुरानै पुस्ता र शैलीबाट चल्नेवाला कदापि छैन ।


अक्सर अभिभावकका सपना आफ्ना सन्तान इञ्जिनियरिङ या मेडिकल सक्दैमा ठूला धनरासी कमाउनकै लागि विदेश पलायन गराउने हुन्छ । जसले देशका लागि आवश्यक सक्षम जनशक्तिको संकट त हुन्छ नै, साथै देशको बागडोर समाल्नुपर्ने नागरीकहरु केवल आफ्नो ब्यक्तिगत प्रगतिमै रमाउँदा देश दिनानुदिन अद्योगतितर्फ उन्मुख छ । आफ्ना सन्तानको उज्जवल भविष्य निर्माणका लागि वहाँहरुका उक्त सपना एउटा जिम्मेवार अभिभावकका कुशल सपनाजस्ता लागेपनि घायल देशका लागि आवश्यक राजनेता उत्पादनमा आफ्ना सन्तानलाई लैजान नखोज्नु एउटा सच्चा नागरीकको गैरजिम्मेवारीपन हो । कोलोम्बो प्लान अन्तरगत छात्रवृति पाएर बिदेश गएर इञ्जिनियरिङ र एमबिबिएस् गर्ने एउटा ठूलो जमातमध्ये अतिकम मात्र स्वदेश फर्कन्छन् । उनीहरुजस्ता सवल जनशक्ति आफ्ना देश भित्र्याउन पश्चिमा मुलुकहरुले हदैसम्मका लचकता देखाउँछन् । देशभित्रैबाट राम्ररी एमएस्सी गर्ने बिद्यार्थीहरु उनीहरुकै लागि रिसर्चमा जीवन बिताउँछन् । बिदेश जाने बिद्यार्थीहरुको क्रम बर्षेनी दोब्रभन्दा बढी भइराखेको छ । शिक्षा मन्त्रालयका अनुसार २००८ मा मात्रै २१०३५ बिद्यार्थीले बिदेश अध्ययनको लागि नो अब्जेक्सन लेटर लिएका थिए । जसका लागि मात्र उनीहरुले ६४ करोड रकम भिसा आवेदनका लागि मात्र खर्चेका थिए । भर्खरै प्रकाशित तथ्याङ्कहरुलाई आधार मान्ने हो भने पनि झण्डै २० अर्ब रुपैया अध्ययनकै नाममा बिदेशिएको छ । सबाल बिदेशिएको पिडा भन्दा पनि राज्यले त्यसबाट पाएको उपलब्धि तर्फ केन्द्रित हुनपर्छ । सिप र ज्ञान आर्जन गर्न परदेश लाग्नुुलाई नै अनुचित ठान्न त सकिदैन तर त्यहाँबाट फर्केर राष्ट्रको लागी कती उपयोगि भयो गम्भिर बिचार्ने बिषय बनेको छ । यही गतिमा बिद्यार्थीहरु बिदेशिने हो भने देश कसरी देशले ऐतिहासिक फड्को मार्न सक्छ त । गणतान्त्रिक नेपालको सरकारले नयाँ नेपाल निर्माण गर्ने क्रममा युवा बिद्यार्थीहरुलाई देशभित्रै राखेर प्राविधिक एवं वैज्ञानिक शिक्षा दिने नीति पहिले नै सार्वजनिक गर्नुुप¥थ्यो । देश जतिनै राजनीतिक रुपमा सवल भएपनि दक्ष युवा जनशक्तिको अभावमा ठूलै बिकास गर्छु भन्नु दिवास्वप्न मात्र हो । देशमा रहने मध्यम खाले जनशक्तिले देशलाई समयको माग अनुसार हाँक्न नसक्दा हामी सदै अन्योल र अनिर्णयका बन्दी बनेका हौँ ।

कलेजका क्यान्टिनमा हामी केही साथीहरु दिनहुँ देशबारे आफ्ना कुराकानिलाई केन्द्रीत राख्छौँ । उनीहरुका कुरा सुन्दा लाग्छ, ति बिद्यार्थीका देशप्रति केही गर्ने तिब्र इच्छा हुँदाहुँदै पनि राज्यले उनीहरुलाई सदुपयोग गर्न सकिरहेको छैन । साथीहरु भन्नेगर्छन् राम्रा बिद्यार्थीलाई बिदेश पठाएर होइन, देशभित्रै प्राविधिक क्षेत्रमा लगाएर उनीहरुबाटै नयाँ नेपालको सिलन्यास गर्नुपर्छ । देशभित्रै अझ केही राम्रा इञ्जिनियरिङ कलेजहरु ख्ुालुन्, जसबाट निस्कने जनशक्तिलाई देशका ग्रामिण बस्तीसम्म लैजान सकियोस् । त्यहाँ उनीहरुलाई नमूना बस्ती बनाउँन सिकाइयोस्, जलबिद्युतमा धेरै बाहिरी ऋण थुपारेर मात्र होइन, स्थानिय लघुबित्त प्रयोग गरेर लघु जलबिद्युल आयोजनाहरु निर्माण गरियुन् । प्राविधिक बिषय नै पढ्ने बिद्यार्थीलाई पनि कम्तिमा देशको अवस्था झल्कने किसिमका केही राजनीतिक चेतनाले भरिएको कम्तिमा एउटा बिषय राखियोस् ।

राज्यले केहि गरेन भनेर आफ्नो दायित्व बाट पन्छिन खोज्नु पनि युवा धर्म भित्र पर्दैन । राज्यले के दियो भन्ने भन्दा पनि राज्यलाई के दिन सकियो भन्ने तर्फ बिचार पु्याउनु उचित हुन सक्छ । म्याग्दीमा ईन्टरनेट चलाउने महाबिर पुनबाट पाठ सिक्दै सबै युवा महाबिर बन्न सके राज्यको मुख ताकिरहनु पनि पर्र्दैैन ।

देशमा ऐतिहासिक परिवर्तन भएको छ । सबैमा नयाँ नेपालको सपना सजिएको छ । राष्ट्र निर्माणका लागि जनता इतिहासमै सबैभन्दा बढी उत्साहित छन् । यो बेला भनेको उनीहरुको उत्साहको अधिकतम प्रयोग गरी राष्ट्र निर्माण गर्ने बेला हो । सधै राजनीतिक नेतृत्वलाई दोष दिएर मात्रै सच्चा राष्ट्रवादी बन्न सकिन्न । आम नेपालीमा रहेको उत्साह सेलाउन नपाउँदै राजनीतिक नेतृत्व आर्थिक र भौतिक बिकासका लागि केन्द्रीत हुनुपर्छ । दलिय राजनीतिबाट माथि उठेर राष्ट्रबिकासका लागि कुशल नेतृत्व क्षमता देखाउनु राष्ट्रिय राजनीतिको आवश्यकता हो भने अर्कोतर्फ यो राजनीतिक पुस्ता असफल भए अर्को बिकल्प तयारी अवस्थामा राख्नुपर्दछ । अब हरेक अभिभावक आफ्ना सन्तान फगल डाक्टर, इञ्जिजियर भएको मात्र होइन, कुशल राजनेता भएको हेर्ने सपना संगाल्न थाल्न सक्नुपर्दछ । राजनीतिलाई फोहोरी खेल सम्झिने परिभाषा अब बदल्नुपर्दछ । यसका लागि आजैबाट पाइला चाल्न थाल्नुपर्दछ । हरेक अभिभावकहरुले आफ्ना सन्तानमा सानैदेखि नेतृत्व क्षमता बिकासका लागि पहल गर्न थाल्नुपर्दछ । उनीहरुमा राष्ट्रपछि मात्र ब्यक्ति हो भन्ने भावना जागृत गराउन सक्नुनर्दछ । बिद्यालय, कलेजहरु बिद्यार्थीको लागि मात्र बिदेश पलायनको सर्टिफिकेट दिनेभन्दा राष्ट्रनिर्माणको महायज्ञमा रमाउन सक्ने वातावरण दिन सक्नुपर्दछ । शिक्षकहरु कक्षामा छिर्दा म कम्तिमा एउटा असल नागरिक बनाउन जाँदैछु भन्ने हेक्का राख्नुपर्दछ । शैक्षिक संस्थाको सफलता उसले राष्ट्रबिकासका लागि उत्पादन गरेका जनशक्तिको आधारमा मापन गरिनुपर्दछ । अबको संसार हाँक्ने भनेका युवापुस्ता नै हुन् भन्ने कुराका प्रतिनिधि पात्र बाराक ओबामा हुन् । उनको कुशलता र क्षमता हेर्न त बाँकी नै छ । यद्यपि संकटमा नआत्तिने र सहजतामा नभुल्ने त्यस्ता धेरै ओबामा नेपालले पनि खोजिराखेको छ । देशले यो बुझ्नु जरुरी छ कि देश बिकासमा खपत हुनुपर्ने ठूला युवा जनशक्तिको क्षतिपुर्ति उनीहरुबाट प्राप्त हुने रेमिटेन्सले कदापि दिन सक्दैन ।

orginally published on nagarik daily

No comments: