Saturday, April 2, 2011

के पढ्दै छन् नेताहरु ?


नेताहरू पढ्दैनन् भन्ने भनाइ सडक बजारमा जतासुकै सुनिन्छ । कम बुद्धि र ज्ञानमै देशको भारी बोक्न बाध्य भनिएका यिनै नेतामध्ये केही छन्, जो पुस्तकलाई प्रेम गर्छन् र ज्ञानको खोजी गर्छन् । यसैले यिनले नेताको खराब छविकै बीच पनि अध्ययनशीलको छवि बनाएका छन् । र, यिनको विद्वताको झलक यिनका भाषण र लेखमा पनि देखिन्छ । ठूला पार्टीमा यस्तो छवि बनाएका केही नेताका पुस्तक र अहिलेको पढाइबारे रमेश न्यौपानेको रिपोर्ट 

नेताले पनि पढ्छन् वा पढेका नेता पनि छन् भन्नुपर्‍यो भने धेरैले सबभन्दा पहिले लिने नाम हो, डा. बाबुराम भट्टराई । कुनै बेलाका एसएलसी बोर्ड फस्ट यी विद्यावारिधि नेताको पढ्ने बानी अहिले पनि उस्तै छ । संविधानसभाको सबभन्दा ठूलो दल माओवादीका उपाध्यक्षका रूपमा उनको दीर्घकालीन र दैनिक कामको छुट्टै रुटिन छ । तर, व्यस्तताका बीच पनि उनी पढ्ने समय निकाल्छन् ।

'म राति खाना खाएपछि २-३ घन्टा ओछ्यानमै पढ्छु, पढ्नका लागि यो उपयुक्त समय हो,' उनी भन्छन् । दिउँसो पढ्ने समय निकाल्न नसक्ने सबै पेसाका मान्छेलाई यो समय पढ्न राम्राे हुने उनको सुझाव छ । 'सबै पेसाका मान्छे व्यस्त हुन्छन्, नेताले मात्र पढ्ने समय नपाउने होइन,' प्रायः नेताले पढ्ने समय पाइएन भनेर गर्ने गरेको गुनासोका विषयमा उनले भने, 'समय आफैं हुने होइन, व्यवस्थापन गर्न सक्नुपर्छ ।' उनी प्रायः राति १२/१ बजेसम्म पढ्छन् । 'कहिलेकाहीँ त पूरै रात पनि पढेको छु,' उनले सुनाए । बेलायती लेखक स्टफेन हकिङस भट्टराईका पि्रय लेखक हुन् । 'उनको अ बि्रफ हिस्ट्री अफ टाइम आजसम्म मैले सर्वाधिक रुचाएको पुस्तक हो,' उनले भने । उनी अहिले हकिङ्सकै पुस्तक 'ग्रान्ड डिजाइन' पढिरहेका छन् ।



originally published at Koseli, kantipur.

अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्लु बुसको पुस्तक 'डिसिजन प्वाइन्ट' पनि उनले पढिरहेका छन् । भट्टराई सामान्य तथा पाएसम्मका सबै पुस्तक पढ्छन् । 'विज्ञान, कला, साहित्य, राजनीति म सबै विधाका पुस्तक पढ्छु,' उनले भने, 'पछिल्लोपटक चलचित्रका सिद्धान्तहरू भन्ने पुस्तक पनि पढें ।' त्यसमध्ये पनि विज्ञान र विशेषगरी खगोलशास्त्रसम्बन्धी पुस्तकमा उनको विशेष रुचि छ । स्कुल पढ्दादेखि नै पुस्तकप्रति लगाव भएका भट्टराई काठमाडौं आएपछि किताबको संगत झन् बढेको बताउँछन् । 'भारतमा बसेर आर्किटेक्ट पढ्दा धित मारेर पढ्न पाएँ,' उनले आपmनो विगत सम्भिmए ।

नेपाली कांग्रेसमा अध्ययनशील नेताको छवि बनाएका नरहरि आचार्य विवेककुमार शाहको 'मैले देखेको दरबार' पढिरहेका छन् । ११ वर्षको उमेरमा चक्रपाणी चालिसेको 'संक्षिप्त महाभारत'बाट अध्ययन सुरु गरेका आचार्यलाई आजसम्म सधैं सम्झनयोग्य कृति पनि यही होजस्तो लाग्छ । हालैको एक बिहानीमा उनले कांग्रेसको महाधिवेशनपछि झन्डै बीस-पच्चीस पुस्तक पढेको जानकारी दिए । हरेक राजनीतिज्ञले महाभारत पढ्नैपर्छ भन्ने मान्यता भएका आचार्य पनि पढ्नलाई समय भएन भन्ने नेताहरूसँग सहमत छैनन् । 'नुहाउन, खाना खान समय पुग्ने अनि पढ्न नपुग्ने,' उनले प्रतिप्रश्न गरे । उनले यात्रामा पनि पढ्ने समय निकाल्ने गरेको बताए ।

एमाले नेता प्रदीप ज्ञवाली अहिले प|mान्सिस फुकुयामाको 'स्टेट विल्डिङ' भन्ने पुस्तक पढिरहेका छन् । यसमा पुँजीवादी कोणबाट हुने राज्यको निर्माणबारे लेखिएको छ । राति सबै सुतेपछि वा बिहान अरू उठनुभन्दा पहिले पढ्न उनलाई मन लाग्छ । नरहरिझैं उनले पनि यात्रलाई पढ्ने मौकाको रूपमा बदल्ने गरेको सुनाए । प्रदीपले वर्षमा सरदर तीस पैंतीसवटा पुस्तक पढ्ने गरेका छन् । रुसी र चिनियाँ साहित्य, उपन्यास उनलाई खुब मनपर्छ ।

कांग्रेसका युवा नेता गगन थापाको भने पढ्ने शैली फरक छ । हरेक १५-२० दिनमा उनले एक दुई दिन पढ्न छुट्याउने गरेका छन् । गगन पनि यात्रामा पढ्छन् । अहिले उनी ओरान पुलमाको 'स्नो' र खालिद होसेनीको 'काइट रनर' पढिरहेका छन् । समय छुट्याएर पढ्ने गरे पनि मन लागेजति किताब पढ्न नपाएको उनले बताए । 'तर, यसो भनेर पढ्न छाडियो भने आपmनो बौद्धिक वृद्धि रोकिन्छ,' उनले आपmनो सचेतना प्रस्टाए ।

पढाइमा समय खर्चने नेताहरू लेखाइमा पनि उत्तिकै रुचि राख्छन् । माओवादीका 'थिङ्क ट्यांक' भनिने भट्टराईका विचारमा पढाइ र लेखाइको बीचमा अनन्य सम्बन्ध छ । 'पढ्ने मान्छेलेे लेख्नुपर्छ र लेख्नेले पढ्नु पनि पर्छ नत्र त्यो अध्ययन टिकाउ हुँदैन,' उनले भने । राजनीतिक विश्राम लिएपछि दुइटा किताब लेख्ने उनको योजना छ । 'एउटा माक्र्सवादको इतिहास र यसको समयअनुकूल विकासमा र अर्को नेपालको इतिहासको ऐतिहासिक भौतिकवादी विश्लेषण गरिएको पुस्तक लेख्ने विचार छ,' उनले भने ।

प्रदीप ज्ञवाली र नरहरि आचार्यका भने केही समयमा नै पुस्तक बजारमा आउेछन् । ज्ञवाली शान्ति प्रक्रियामा आपmनो अनुभव समेटेर पुस्तक तयार पार्दै छन् भने नरहरिको 'यात्रा गणतन्त्रको' नामक पुस्तक प्रकाशित हुँदै छ । यी तीनै नेताका यसअघि पनि पुस्तक प्रकाशित भइसकेका छन् । गगन भने अहिले 'विचार' त्रैमासिक पत्रिकाका सम्पादक छन् । र, आफूसमेतले सम्पादन गरेको 'नेपाली कांग्रेसको ऐतिहासिक दस्तावेज'को दोस्रो संस्करण निकाल्ने तयारीमा छन् । सक्रिय राजनीतिमा रहेका र सफलता पनि पाएका थुप्रै नेताले लेखपढलाई खासै महत्त्व दिएको देखिँदैन ।

लामो समयसम्म प्रदीप गिरिजस्ता एकाध नेताले 'लेखपढ गर्ने नेता'को छविलाई धानेका थिए । भट्टराई भने लामो समयसम्म राजनीतिमा टिक्न र दीर्घकालीन सफलताका लागि अध्ययन आवश्यक हुने बताउँछन् । 'सैद्धान्तिक र वैचारिकभन्दा तत्कालीन व्यावहारिक कुरामा जोड दिने क्षणिकरूपमा सफल त होलान् तर दीर्घकालीन सफलता तिनले पाउँदैनन् । आफूभित्र ज्ञानको उज्यालो बाल्न नसक्नेले देशलाई कसरी अँध्यारोबाट मुक्त गर्न सक्छन् ?' उनले प्रश्न गरे । आचार्य, ज्ञवाली र थापा पनि लामो समयसम्म सफल र प्रभावकारी राजनीतिका लागि अध्ययनको आवश्यकता भएकोमा सहमत छन् ।

नेपाली नेतामा अरूका तुलनामा वामपन्धी धारकाले बढी पढ्छन् भन्ने मान्यता चलनचल्तीमा छ । भट्टराई र ज्ञवालीलाई पनि यस्तै लाग्छ । यसमा गगनको भनाइ भने अलि रोचक छ । उनी भन्छन्, 'वामपन्थीबाट अरूले पढ्ने बानी सिक्नुपर्नेमा अहिले त कम्युनिस्टले पनि अरूबाट नपढ्ने बानी सिकिरहेकोजस्तो लाग्छ ।'

No comments: