हेलो शुक्रबारसँगैसँगै सम्बन्ध गासिएका केही प्रतिनिधि जोडिहरु जसले आफ्नो सम्बन्धलाई प्रेम, विश्वास, साझेदारी र लगनशिलतासँगै अघि बढाए
अंग्रेजीमा ‘कन्सिट’ नाम गरेको एउटा शब्द बिम्बको रुपमा खुबै चर्चित छ जसको अर्थ ‘दुई फरक धरातलका बस्तुहरु जबरजस्त एक हुनु’ भन्ने हुन्छ । त्यही बिम्ब दिलिप पौड्याल, ३२, र उनकी जीवनसाथी शारदा गौतम पौड्याल, २७, सँगको जीवनमा धेरै हदसम्म मेल खान्छ, उनीहरुकै विचारमा । यद्यपि फरक धरातलमा आधारित रहेर स्थापित भएता पनि त्यो एउटा सुन्दर, सुखद र सफल जीवनको नमूना पनि छ ।
हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सेजमा अंग्रेजी बिभाग प्रमुख दिलिपको घर बाग्लुङ जिल्लाको दगातुम्डाडा गाउमा छ जहाँ उनी गाईभैंसी चराउदै र घासदाउरा गर्दै हुर्किए भने काठमाण्डुको सामाखुसी घर भएकी शारदाको बाल्यकाल भारतको देहरादुनमा बित्यो । त्यहीबाट स्कुले जीवन पूरा गरेकी उनी पछि काठमाण्डु आई त्रिचन्द्र क्याम्पसबाटै भूगर्भशास्त्रमा स्नातकोत्तर त सकिन् तर गाउ“बस्तीस“ग उनको लामो सामिप्यता कहिल्यै रहेन । जीवनको संयोग नै मान्नुपर्छ ती फरक धरातलमा हुर्किएका यी दुई अहिले श्रीमान–श्रीमती छन् । उनीहरुको मागी विवाह हो । ‘तर विहेको प्रशंग उठेपछि विहेपूर्व नै हामीबिच प्रेम सम्बन्ध स्थापित भयो ।’ दिलिपले भन्दैगर्दा साथै रहेकी शारदाले हास्दै जोडिन्, ‘त्यसैले मागी प्लस प्रेम विवाह ।’ होली मनाउन काठमाण्डु छिरेका यी जोडिसँग हालैको एक बिहान साटिएको झण्डैं ३ घण्टे गफगाफ आफैमा रोचक थियो । सायद कुनै सेलिब्रिटीको हुदो हो त ट्याब्लोइडहरुमा निरन्तर छाइरहने जस्तो । ‘...काठमाण्डु बाहिर बस्न सक्दिन, ...मन नपर्ने पेशा टिचिङ’, विहे पहिलेको कुराकानीमा शारदाले भन्ने गरेको कुरा दिलिप अझै सम्झन्छन् । तोकिएका दुवै दायरासँग दिलिप फेल खाइसकेका थिए । भन्छन्, ‘सायद त्यो आत्माहरुले नै तय गरेको सम्बन्ध थियो र हामी जीवनसाथी बन्यौ ।’ त्यसबिचमा इन्टरनेट र मोवाइलले उनीहरुबिच मध्यस्तताको काम ग¥यो जसले धेरै नजिकबाट एकअर्कालाई परिचित गरायो पनि ।
विहेपछिको शारदाको पहिलो गाउ यात्राले एउटा नया दुनियासँग परिचित गरायो । ‘त्यो बिकट पहाडमा गाडिमा यात्रा गर्नु नै साहसीक काम मानिदो रहेछ’, शारदा सम्झन्छिन्, ‘गाडिको छानासँग बारम्बार टाउको ठोक्किने ।’ हिड्दा त उनको खुट्टामा निकै फोहरा उठिसकेका थिए । दिलिपलाई त लागिरहेको थियो शारदा यो बिजोग देखेर रुनेछिन् । यद्यपि दिलिपसँग विहे अघि भएका कुराकानीले नै उनलाई वेग्लै उर्जा दिएको थियो जसका कारण त्यसलाई उनी सहजै पचाउन सकिन् । दिलिप भन्छन्, ‘च्याटिङ र फोनमा उनले कहिल्यै धनसम्पत्तिबारेको कुरा गरिनन् । उनको ध्येय मेरो प्रकृति र बानीव्यवहार वुझ्ने मात्र हुन्थ्यो ।’

