नेताहरू पढ्दैनन् भन्ने भनाइ सडक बजारमा जतासुकै सुनिन्छ । कम बुद्धि र ज्ञानमै देशको भारी बोक्न बाध्य भनिएका यिनै नेतामध्ये केही छन्, जो पुस्तकलाई प्रेम गर्छन् र ज्ञानको खोजी गर्छन् । यसैले यिनले नेताको खराब छविकै बीच पनि अध्ययनशीलको छवि बनाएका छन् । र, यिनको विद्वताको झलक यिनका भाषण र लेखमा पनि देखिन्छ । ठूला पार्टीमा यस्तो छवि बनाएका केही नेताका पुस्तक र अहिलेको पढाइबारे रमेश न्यौपानेको रिपोर्ट
नेताले पनि पढ्छन् वा पढेका नेता पनि छन् भन्नुपर्यो भने धेरैले सबभन्दा पहिले लिने नाम हो, डा. बाबुराम भट्टराई । कुनै बेलाका एसएलसी बोर्ड फस्ट यी विद्यावारिधि नेताको पढ्ने बानी अहिले पनि उस्तै छ । संविधानसभाको सबभन्दा ठूलो दल माओवादीका उपाध्यक्षका रूपमा उनको दीर्घकालीन र दैनिक कामको छुट्टै रुटिन छ । तर, व्यस्तताका बीच पनि उनी पढ्ने समय निकाल्छन् ।
'म राति खाना खाएपछि २-३ घन्टा ओछ्यानमै पढ्छु, पढ्नका लागि यो उपयुक्त समय हो,' उनी भन्छन् । दिउँसो पढ्ने समय निकाल्न नसक्ने सबै पेसाका मान्छेलाई यो समय पढ्न राम्राे हुने उनको सुझाव छ । 'सबै पेसाका मान्छे व्यस्त हुन्छन्, नेताले मात्र पढ्ने समय नपाउने होइन,' प्रायः नेताले पढ्ने समय पाइएन भनेर गर्ने गरेको गुनासोका विषयमा उनले भने, 'समय आफैं हुने होइन, व्यवस्थापन गर्न सक्नुपर्छ ।' उनी प्रायः राति १२/१ बजेसम्म पढ्छन् । 'कहिलेकाहीँ त पूरै रात पनि पढेको छु,' उनले सुनाए । बेलायती लेखक स्टफेन हकिङस भट्टराईका पि्रय लेखक हुन् । 'उनको अ बि्रफ हिस्ट्री अफ टाइम आजसम्म मैले सर्वाधिक रुचाएको पुस्तक हो,' उनले भने । उनी अहिले हकिङ्सकै पुस्तक 'ग्रान्ड डिजाइन' पढिरहेका छन् ।
originally published at Koseli, kantipur.

